डा. केसी-सरकार निर्णायक वार्ता आज: सहमति नजिक पुगेको दाबी


धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेजीलगायत पाँचबुँदे माग राखेर अनशनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज निर्णायक वार्ता हुँदै छ।

आइतबार सेती प्रादेशिक अस्पतालमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबिच करिब १२ घण्टा लामो सघन छलफल भए पनि केही प्राविधिक विषयमा अन्तिम सहमति जुट्न बाँकी रहेकाले वार्ता आजका लागि सारिएको हो। आइतबारको छलफलमा सम्झौताको मस्यौदासमेत तयार भइसकेको वार्ता टोली निकट स्रोतले जनाएको छ।

‘विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सिट सङ्ख्यासम्बन्धी विषयमा थप स्पष्टता आवश्यक परेपछि सोमबार पुनः बस्ने गरी आइतबारको बैठक सकिएको हो,’ वार्तामा सहभागी एक प्रतिनिधिले भने।

डा. केसी पक्षका अनुसार वार्ताको सबैभन्दा जटिल विषय विश्वविद्यालयमा भएका नियुक्ति र तिनको जिम्मेवारीसँग जोडिएको छ। स्वार्थको द्वन्द्व हुने गरी नियुक्ति गरिएका पदाधिकारीलाई हटाएर विश्वविद्यालयको पठनपाठन र सञ्चालनमा अवरोध नआउने वैकल्पिक कानुनी व्यवस्था हुनुपर्ने अडान डा. केसीको छ।

स्रोतका अनुसार सरकार विवादमा परेका रजिष्ट्रारलाई जिम्मेवारीमुक्त गर्न सकारात्मक देखिएको छ भने उपकुलपतिको विषयमा थप कानुनी परामर्श र गृहकार्य भइरहेको छ।

छलफलका क्रममा कञ्चनपुरको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षभित्रै ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउने र मेडिकल शिक्षाको अध्यापन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने विषयमा दुवै पक्ष सकारात्मक बनेका छन्।

गत बिहीबारदेखि अनशनमा बसेका डा. केसीका प्रमुख मागहरू यसप्रकार रहेका छन्–

– विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा गरिएका विवादास्पद नियुक्तिहरू तुरुन्त खारेज गरिनुपर्ने।

– चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान संशोधन गरी चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाइनुपर्ने।

– निजी मेडिकल कलेजहरूमा मापदण्डविपरीत गरिने सिट वृद्धिको निर्णय रोकिनुपर्ने।

– सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य, शिक्षा र पूर्वाधारको दायरा विस्तार गरिनुपर्ने तथा भ्रष्टाचार एवं हिंसाका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने।

लगातारको अनशनका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। वार्तालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य सचिव, शिक्षा सचिवलगायतको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल हाल धनगढीमै खटिएको छ।