लघुवित्तपीडितका माझमा ऋषि धमला: न्याय दिलाउने प्रतिबद्धता


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले लघुवित्त पीडितहरूका समस्या समाधानका लागि उच्च स्तरमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत लघुवित्त पीडितहरूसँग भएको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितका आवाजलाई निर्णायक तहसम्म पुर्‍याउन आफू अग्रपंक्तिमा रहेर खट्ने वचन दिएका हुन्।
लामो समयदेखि आफ्ना माग सम्बोधन नभएर काठमाडौँको सडकमा आन्दोलित बनेका पीडितहरूले धमलालाई माइतीघरमा भव्य स्वागत गर्दै आफ्ना पीडा र मागहरू सुनाएका थिए। पीडितहरूका दुःख र समस्या एकाग्र भएर सुनेका धमलाले देशका हरेक संकट र नागरिकका समस्यामा आफूले सधैँ निर्भीक भएर अभिभावकत्व प्रदान गर्दै आएको र लघुवित्त पीडितको हकमा पनि पछि नहट्ने स्पष्ट पारे।
लघुवित्तका नाममा सोझा र निमुखा जनतामाथि भएको शोषण अन्त्य हुनुपर्नेमा जोड दिँदै धमलाले भने, ‘जनताका समस्या समाधान गर्न र उनीहरूलाई न्याय दिलाउन म जुनसुकै हदसम्म जान तयार छु। तपाईंहरूको यो आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन र राज्यलाई जिम्मेवार बनाउन म आफैँ पहलकदमी लिन्छु।’
कार्यक्रममा सहभागी पीडितहरूले धमलाको उपस्थिति र ढाडसले आफूहरूमा नयाँ आशा र उmर्जा थपेको बताएका थिए। देशका प्रमुख राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग सिधा पहुँच र प्रभावकारी तार्किक क्षमता भएका प्रभावशाली व्यक्तित्व एवं वरिष्ठ पत्रकार धमला आफैँ माइतीघर पुगेर ऐक्यबद्धता जनाएपछि पीडितहरूले उत्साह व्यक्त गरेका थिए।
पीडितहरूबाट प्राप्त उच्च सम्मान, समर्थन र भरोसाले उत्साहित बनेका धमलाले देश र जनताका लागि निरन्तर लडिरहने आफ्नो अभियान रोकिने छैन भन्दै पीडितहरूलाई छिट्टै न्याय दिलाउने दोहोर्‍याए। स्वतन्त्र नागरिक अभियानका तर्फबाट समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग वार्ता र दबाब दुवै कार्यक्रम अघि बढाउने उनले बताए।