सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन भएको छ।
सोमबार सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केहीबेर राजमार्गसमेत अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार सुनसरी घटनाको विरोधमा केही स्थानीय सडकमा उत्रिएका थिए।
प्रहरीको सम्झाइ–बुझाइपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको उनले बताए। प्रदर्शनपछि अहिले सिरहाको अवस्था सामान्य रहेको एसपी पाठकले जानकारी दिए। यसअघि सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।
घटनामा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया