सरकार बल प्रयोग र सामाजिक सञ्जालमा सीमित हुन भएन : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई तत्काल सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले सरकार बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताएका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘भाउ खाने र ठालु भएर बस्ने’ प्रवृत्ति त्यागी अभिभावकीय भूमिका खेल्न सुझाव दिए।

सभापति थापाले प्रधानमन्त्रीले अहंकार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए। सरकारलाई अभिभावक र नेतृत्वकर्ताका रूपमा चित्रण गर्दै थापाले भने, “नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु हो। प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक डाक्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूबारे जानकारी गराउनुपर्छ।”

मधेसमा हुने कुनै पनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् भएको टिप्पणी गर्दै उनले यसलाई राज्य सञ्चालनको असफलताकै निरन्तरताका रूपमा अर्थ्याए। घटनाको निष्पक्ष छानबिनका लागि संसद्मा सशक्त आवाज उठाउने बताउँदै थापाले अहिलेको समय सरकारलाई अप्ठ्यारोमा पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने बेला भएको स्पष्ट पारे।

यस्तै, सभापति थापाले नेपाली कांग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पूर्णरूपमा प्रतिबद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलहरूसँग हातेमालो गर्दै जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।