संयुक्त राष्ट्रसङ्घ १३ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वेस्ट ब्याङ्क क्षेत्रमा इजरायली बासिन्दाहरूले प्यालेस्टिनी समुदायहरू विरुद्ध गरेको आक्रमणको निन्दा गरेका छन् ।
महासचिव गुटेरेसले कब्जा गरिएको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी समुदायहरू विरुद्ध त्यस क्षेत्रमा बस्दै आएका इजरायली नागरिकले गरेको आक्रमणको निन्दा गरेका हुन् । इजरायली आक्रमणका क्रममा दुई वटा मस्जिदहरूमा आगलागी, निजी सम्पत्तिको तोडफोड र प्यालेस्टिनी नागरिकलाई लक्षित गरी आक्रमणहरू भएको गुटेरेसका उप प्रवक्ता फरहान हकले बताएका छन् ।
धार्मिक स्थलहरू विरुद्धको आक्रमणहरू घृणित र अस्वीकार्य भएको उल्लेख गर्दै द्वन्द्वको कारण पहिले देखि नै अस्थिर अवस्थामा रहेको यस क्षेत्रमा थप द्वन्द्व भड्काउने जोखिम बढेको हकले उल्लेख गरेका छन् । महासचिव गुटेरेसले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई यथा सिग्र पहिचान गरी अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व अनुरूप जवाफदेही बनाउन आह्वान गरेका छन् ।
गुटेरेसले इजरायली अधिकारीहरूलाई प्यालेस्टिनीहरू र उनीहरूको सम्पत्ति, धार्मिक स्थलहरू लगायत थप आक्रमणहरू रोक्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र प्रभावकारी उपायहरू अपनाउन आह्वान गरेको हकले पुष्टि गरेका छन् ।
महासचिवले सबै पक्षलाई अधिकतम संयमता अपनाइ थप तनाव रोक्न र शान्ति पुनःस्र्थापना गर्न तत्काल कदम चाल्न आग्रह गरेको उनले बताएका छन् ।
पछिल्लो समयमा वेस्ट ब्याङ्क क्षेत्रमा बसोबास गर्ने इजरायली नागरिकहरुले त्यस क्षेत्रमा बसाबास गर्ने प्यालेस्टिनी समुदायहरू माथि चरम हिंसाको नयाँ लहर सुरु भएको जनाइएको छ ।
शुक्रबार, नब्लुसको दक्षिणपश्चिममा भएको हिंसात्मक घटनामा चार जना प्यालेस्टिनी र दुई जना इजरायली नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ भने प्यालेस्टिनी सम्पत्तिमा ठुलो क्षति भएको मध्य पूर्व शान्ति प्रक्रियाका लागि बाधक बनेको संयुक्त राष्ट्रसङ्घका उप विशेष संयोजक रमिज अलक्बरोभले मङ्गलबार सुरक्षा परिषद्मा बताएका छन् ।
नब्लस नजिकै शुक्रबार भएकोको घटना पछि इजरायलले वेस्ट ब्याङ्क क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान सुरु गरी कम्तिमा ८० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार आइतबार इजरायली बासिन्दाहरूले वेस्ट ब्याङ्कका प्यालेस्टिनी गाउँहरूमा आक्रमण गर्नुका साथै दुई वटा मस्जिदहरूमा आगो लगाएको जनाइएको छ । रासस




प्रतिक्रिया