काठमाडौँ । मुलुकका विभिन्न भागमा सामाजिक तथा धार्मिक संवेदनशीलता बढ्दै गएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न तल्लो तहसम्म सर्वदलीय संयन्त्र गठन गर्न अपिल गरेको छ।
बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपिलमा शान्ति-सद्भाव कायम राख्न केन्द्रस्तरको प्रयास मात्र पर्याप्त नहुने स्पष्ट पार्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी संवाद अघि बढाउनुपर्नेमा जोड दिइएको छ। साथै, नागरिकस्तरमा विश्वासको वातावरण निर्माणका लागि आ-आफ्ना पार्टीका तल्लो तहका समितिलाई सक्रिय रूपमा खटाउन दलहरू सहमत भएका छन्।
सुनसरीलगायतका जिल्लाहरूमा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर ध्यान आकर्षण गराउँदै बैठकले स्थानीय स्तरमै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गर्नुपर्ने निष्कर्ष निकालेको छ। स्थानीय स्तरमै संवाद, सहकार्य र समझदारी कायम हुन सके मात्र सम्भावित मुठभेड र तनावलाई रोक्न सकिने सर्वदलीय बैठकको ठहर छ।
बैठकले देशमा सामाजिक भाइचारा, धार्मिक सहिष्णुता र शान्ति-सुरक्षा कायम राख्न सम्पूर्ण राजनीतिक दल, स्थानीय नेतृत्व, नागरिक समाज तथा सरोकारवाला पक्षहरूलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न विशेष आग्रहसमेत गरेको छ।






प्रतिक्रिया