काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा गरेको सम्बोधनलाई सकारात्मक र समयसापेक्ष भएको बताएका छन्।
पछिल्लो समय मधेस केन्द्रित जिल्ला सुनसरी र सिराहामा भएका घटनापछि प्रधानमन्त्री शाहले बिहीवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आवश्यक कदम चालिरहेको बताएका थिए। उनले यस्ता घटना पुनः दोहोरिन नदिन सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराए ।
प्रधानमन्त्रीको सम्बोधनप्रति प्रतिक्रिया दिँदै धमलाले सरकार समस्या समाधान गर्न प्रतिबद्ध रहेको सन्देश प्रधानमन्त्रीको सम्बोधनमार्फत स्पष्ट भएको बताए। उनले सरकार जनताको चाहनाअनुसार अघि बढ्न प्रयत्नरत रहेको र प्रधानमन्त्रीको सम्बोधनले नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गरे।
धमलाले अहिलेको परिस्थितिमा सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई अझ मजबुत बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आमजनता मिलेर सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।




प्रतिक्रिया