किशोर श्रेष्ठको निवेदनमा आज सुनुवाइ, हिरासतमै राख्ने वा थुनामुक्त गर्नेबारे आदेश आउन सक्ने


काठमाडौं, भदौ १ । वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार आज उनको हिरासत र पक्राउको कानुनी आधारबारे अदालतमा सुनुवाइ हुने भएको हो ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनकी पत्नी सरस्वतीले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमा श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल अदालतमा उपस्थित गराई थुनामुक्त गर्न माग गरिएको छ । आजको सुनुवाइबाट श्रेष्ठको हिरासतलाई निरन्तरता दिने वा थुनामुक्त गर्नेबारे अदालतबाट आदेश आउन सक्नेछ ।