विनाशकारी बाढी र पहिरोले देश शोकमा : वासना थापा


काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विपद्को यो कठिन घडीमा राजनीतिभन्दा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताइन् ।

सचेतक थापाले विपद्मा परेका नागरिकले राज्य हाम्रो साथमा छ र सरकार हाम्रो दुःखमा उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्ने बताए। उनले उद्धार, राहत र उपचारका सम्पूर्ण संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गरिन्।

सरकारले गर्ने हरेक उद्धार तथा राहतका कार्यमा नेपाली कांग्रेसले खुल्ला हृदयका साथ पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

बाढीले पुर्‍याएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी पुनर्स्थापना र पुनर्निर्माणका कामलाई ढिला नगरी अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।

रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खाका नागरिकको दुःखमा सिङ्गो नेपाल उभिएको बताउँदै उनले सबैलाई धैर्य धारण गर्न र विपद् व्यवस्थापनमा जुट्न अपिल गरिन्।