काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्ने घोषणा गरेका छन् । उनले मिटरब्याजका नाममा सर्वसाधारणको सम्पत्ति हडप्ने र उनीहरूलाई घरबारविहीन बनाउनेहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
आज रिपाेर्टस क्लब,नेपालकाे साक्षात्कारमा बोल्दै धमलाले विशेषगरी मधेस प्रदेशमा मिटरब्याज पीडितहरूको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गरे । देशभर भ्रमण गर्दा आफूले मिटरब्याज पीडितका दुःख, पीडा र समस्यालाई नजिकबाट देखेको बताउँदै उनले कतिपय परिवार घरबारविहीन हुनुपरेको अवस्था रहेको बताए ।
उनले भने, “मिटरब्याज पीडितहरूको माग सरकारले तुरुन्त सम्बोधन गर्नुपर्छ । जसले जनतालाई ठगेका छन्, ती ठगहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । एकपटक हाम्रो देशमा मिटरब्याज पीडितले न्याय पाउनुपर्छ । उहाँहरूलाई जसरी पनि न्याय दिलाएरै छाड्छु, त्यो मेरो घोषणा हो ।”
धमलाले पीडितहरूको लुटिएको रकम फिर्ता गराउने र हडपिएको सम्पत्ति फिर्ता गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मिटरब्याजका नाममा चर्को ब्याज असुल्ने, ऋणभन्दा कैयौँ गुणा बढी रकम लिने र अन्ततः ऋणीको घरजग्गासमेत आफ्नो नाममा पारेर उनीहरूलाई बिचल्लीमा पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
“उनीहरूले पैसा लिने, ब्याज खाने अनि पीडितको सम्पत्तिसमेत खाइदिने । उनीहरू मात्रै मालामाल हुने, पीडितहरू बिचल्लीमा पर्ने अवस्था अन्त्य हुनुपर्छ । लुटिएको पैसा फिर्ता गराएरै छाड्छौँ, घरबारविहीन भएकाहरूलाई घर दिलाएरै छाड्छौँ,” उनले भने ।
उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै पीडितका माग सम्बोधन गर्न ढिलाइ नगर्न आग्रह गरे ।
सुकुम्बासीलाई १५ हजार दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन
धमलाले सुकुम्बासी व्यवस्थापन र क्षतिपूर्तिको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । क्षतिपूर्ति दिने दायित्व सरकारकै भएको उल्लेख गर्दै उनले १५ हजार रुपैयाँ दिएर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई हटाउन नमिल्ने बताए ।
उनका अनुसार विस्थापित तथा प्रभावित नागरिकको समस्या समाधान र उचित क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नुपर्छ ।
यसैबीच, धमलाले प्रधानमन्त्री बालेन शाहको हालै सम्पन्न भारत भ्रमण सफल भएको बताएका छन् । उनले भ्रमणलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भ्रमणका उपलब्धि र नेपाल–भारत सम्बन्धमा त्यसले पार्ने प्रभावबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया