रास्वपा सांसद न्यौपानेको प्रस्ताव: नेपाललाई चीन–भारत जोड्ने ट्रान्जिट हब बनाउनुपर्छ 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले नेपालको विकास र समृद्धिको प्रमुख आधार ऊर्जा हुनुपर्ने बताएका छन् । उनले नेपालका विगतका राणा शासन, राजतन्त्र तथा संसदीय व्यवस्थाका राजनीतिक दल र नेतृत्वले विकासको स्पष्ट सूत्र र मोडेल पहिचान गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछाडि परेको टिप्पणी गरेका हुन् ।

चीन भ्रमणबाट फर्किएपछि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद न्यौपानेले नेपालको विकासको मूल सूत्र ऊर्जाको सन्तुलित उत्पादन र खपत रहेको बताएका हुन् ।

उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात तथा औद्योगिकीकरणलगायत सबै क्षेत्रको विकासका लागि भरपर्दो विद्युत् अपरिहार्य छ । नेपालसँग पर्याप्त जलस्रोत र ऊर्जा उत्पादनको सम्भावना हुँदाहुँदै त्यसको प्रभावकारी उपयोग गर्न नसक्नु नै विकासको ठूलो कमजोरी भएको उनको भनाइ छ ।

न्यौपानेले मधेसका विद्यालयमा गर्मीका कारण बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उदाहरण दिँदै पर्याप्त विद्युत् उपलब्ध भए वातानुकूलित कक्षाकोठा निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । त्यस्तै, विद्युत् अभावमा स्वास्थ्य चौकीका एक्स-रे मेसिन तथा अन्य उपकरण सञ्चालन हुन नसक्ने, कृषिमा चिस्यान केन्द्र र प्रशोधन उद्योग स्थापना गर्न कठिन हुने अवस्थासमेत उनले औँल्याए ।

पर्यटन क्षेत्रको उदाहरण दिँदै उनले पाँचतारे होटलमा पाउने सुविधाजस्तै सुविधा पर्यटकीय गन्तव्यसम्म पुग्दा पर्यटकले महसुस गर्न नसकेको बताए । मोबाइल नेटवर्क, इन्टरनेट, स्वच्छ खाना, तातो–चिसो पानी र सुरक्षाको अभावले पर्यटकलाई पुनः नेपाल आउन निरुत्साहित गर्ने उनको तर्क छ ।

उनले भने, “घरको भान्छादेखि यातायात, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य हरेक क्षेत्रमा अहिलेको शताब्दीमा नभई नहुने एकमात्र चिज भरपर्दो बिजुली हो ।”

अर्थतन्त्र सिर्जना गर्नुभन्दा बाँड्नमै बढी ध्यान दिइयो

न्यौपानेले नेपालले विकसित मुलुकका सामाजिक सुरक्षा तथा वितरणमुखी कार्यक्रमको नक्कल गर्नुभन्दा पहिले ती मुलुकले अर्थतन्त्र कसरी निर्माण गरे भन्ने अध्ययन गर्नुपर्ने बताए ।

उनका अनुसार नेपालले अर्थतन्त्रको आकार बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने तथा निर्यात प्रवर्द्धन गर्ने नीतिमा पर्याप्त ध्यान दिन सकेको छैन । बरु सीमित स्रोतसाधनलाई विभिन्न शीर्षकमा वितरण गर्ने प्रवृत्ति हाबी भएको उनको टिप्पणी छ ।

उनले सामाजिक सुरक्षा भत्ता, विधवा भत्ता, बालबालिकासम्बन्धी भत्ता तथा विभिन्न पूर्वाधार कार्यक्रमको उदाहरण दिँदै विकसित देशले लामो समयको आर्थिक विकासपछि अवलम्बन गरेका नीतिलाई आफ्नो आर्थिक अवस्थाको अध्ययन नगरी हुबहु लागू गर्न खोज्नु गलत भएको बताए ।

चीनलगायत विकसित मुलुकको विकास यात्रा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालको तत्कालीन आर्थिक अवस्थासँग मिल्ने नीति, कानुन र विकास रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाललाई चीन–भारत जोड्ने ट्रान्जिट हब बनाउन सकिन्छ

चीन भ्रमणका क्रममा आफूले नेपाललाई चीन र भारत जोड्ने अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न सकिने प्रस्ताव राखेको न्यौपानेले जानकारी दिए ।

उनका अनुसार चीनसँग अत्याधुनिक प्रविधि, पुँजी र पूर्वाधार निर्माणको क्षमता छ भने नेपालको भौगोलिक अवस्थिति चीन र भारतबीच रणनीतिक पुल बन्न सक्ने खालको छ ।

नेपालको हिमाली भूगोललाई चुनौतीका रूपमा मात्र नहेरी त्यसलाई अवसरमा बदल्नुपर्ने उनको धारणा छ । हिमालमुनिबाट भूमिगत रेलमार्ग निर्माण गरी चीन र भारतलाई जोड्न सके नेपालले अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनको महत्वपूर्ण केन्द्र बन्ने अवसर प्राप्त गर्ने उनले बताए ।

सडकमार्ग प्राकृतिक प्रकोपका कारण बारम्बार प्रभावित हुने भएकाले दीर्घकालीन रूपमा भूमिगत रेलमार्ग र आधुनिक यातायात पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

जलस्रोतलाई ऊर्जामा बदल्ने र ऊर्जा कूटनीति अपनाउने प्रस्ताव

न्यौपानेले नेपालको जलस्रोतलाई पहाडबाट तराईतर्फ झर्नुअघि नै अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्नुपर्ने बताएका छन् । उनले नेपालको जलस्रोतलाई ‘युवा जलशक्ति’ को संज्ञा दिँदै यसको उपयोग गर्न नसक्दा ठूलो आर्थिक सम्भावना खेर गइरहेको बताए ।

उनका अनुसार जलविद्युत् उत्पादनसँगै भविष्यमा हाइड्रोजन ऊर्जाको विकासलाई समेत ध्यानमा राखेर दूरगामी नीति बनाउन आवश्यक छ । आगामी पाँचदेखि दस वर्षमा ऊर्जा प्रविधिमा ठूलो परिवर्तन आउन सक्ने भएकाले नेपालले तत्कालीन आवश्यकताभन्दा पनि भविष्यको ऊर्जा बजारलाई लक्षित गर्नुपर्ने उनले बताए ।

नेपालको जलस्रोतको एक हिस्सा आफ्नै विद्युत्, खानेपानी, सिँचाइ र औद्योगिकीकरणमा प्रयोग गरी बाँकी स्रोतबाट भारत, बंगलादेशलगायत छिमेकी मुलुकलाई लाभ पुग्ने गरी ऊर्जा निर्यात गर्नुपर्ने उनको प्रस्ताव छ ।

उनले मध्यपूर्वका मुलुकले पेट्रोलियम पदार्थको उत्खनन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि विदेशी कम्पनी तथा पुँजी परिचालन गरेर आर्थिक समृद्धि हासिल गरेको उदाहरणसमेत दिए ।

“पेट्रोलियम ऊर्जाको युग विस्तारै परिवर्तन हुँदैछ । अब पानीबाट उत्पादन हुने ऊर्जाको युग आउँदैछ । हामीले हाम्रो पानीलाई पहाडबाट तराई झर्नुअघि नै ऊर्जामा परिणत गरेर बिक्री गर्न सक्नुपर्छ,” उनले भने ।

न्यौपानेले वर्तमान सरकारसँग विगतका सरकारको तुलनामा बलियो जनमत र म्यान्डेट रहेको उल्लेख गर्दै अबको पाँच वर्षमा दूरगामी ऊर्जा नीति तथा आर्थिक रूपान्तरणको आधार तयार गर्न नसके भावी पुस्ताको आकांक्षामाथि अन्याय हुने चेतावनी दिए ।