चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ ।
त्रिशुली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक बन्ने अवस्था नभएसँगै वैकल्पिक मार्गको खोजी थालिएको हो ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रूपमा छ । सडकको झण्डै १०० मिटर भाग भासिएको छ ।
सडक तत्काल बनाउन असंभव भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङवेसी–सल्यानटार–गोरखा हुँदै आउनेसहितका अन्य सडकको अध्ययन भइरहेको छ । पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान मिल्ने बाटोको खोजी भइरहेको हो ।
पश्चिम खण्ड प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीले सडक तत्काल बनाउनसक्ने अवस्था नभएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन् । उनका अनुसार कटानका कारण सडकको भित्तोसमेत चर्किएको छ । खोलाले सडकको फेद कटान गरिरहेको उनको भनाइ छ । इन्जिनियर अधिकारीले भनिन्, “खोलाले कटान गरिरहेको छ । कति झर्छ यकिन भन्न सकिने अवस्था छैन ।”
सडकको भित्तो माथिको डाँडाको अवस्था हेर्ने काम भइरहेको बताउँदै उनले विषय विज्ञले विस्तृत अध्ययन गरेर कामको टुंगो लगाउने उनको भनाइ छ । माथि डाँडामा बस्तीसमेत रहेको भन्दै उनले भित्तो काट्न पनि सम्भव नभएको बताइन् । “भित्तो काट्न मिल्दैन । माथितिर बस्ती छ । अहिले हामी तत्काल चलाउन सक्दैनौँ ।”
पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्ने छन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखा तिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो ।
यो सडक राजधानीका लागि लाइफ लाइन सडक हो । राजधानीमा ग्यासका बुलेट लगायतका ठूला गाडीसमेत लैजानुपर्ने हुन्छ । यस सडकमा दैनिक १४ हजार हाराहारी सवारी गुडछन् । रासस




प्रतिक्रिया