रसुवाको बाढीपछि बाजुराका दम्पती अझै सम्पर्कविहीन


काठमाडौं, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि बाजुराका एक दम्पती सम्पर्कविहीन भएका छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थायी घर भएका वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशी बाढीपछि सम्पर्कविहीन भएका हुन्।

जोशी दम्पती कामको सिलसिलामा रसुवा भन्सार कार्यालय आसपास रहँदै आएका थिए। रसुवामा बाढी आएपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको परिवारले जनाएको छ।

बाढीपछि परिवारले उनीहरूको अवस्थाबारे जानकारी लिन विभिन्न माध्यमबाट प्रयास गरे पनि हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। आफन्तहरूले सम्भावित स्थानमा खोजी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्।
जोशी दम्पती लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारले उनीहरूको खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। परिवारका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका क्रममा रहेका निकायले उनीहरूको खोजीलाई प्राथमिकतामा राखिदिन आग्रह गरिएको छ।

सम्पर्कविहीन दम्पतीका छोरा सन्तोष जोशीले आफ्ना बुवा–आमाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए परिवारलाई खबर गरिदिन आग्रह गरेका छन्। वीरेन्द्र र सत्या जोशीबारे जानकारी भए 9860792939 मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।