रसुवाको बाढीपछि बाजुराका दुई जना सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह


काठमाडौं । रसुवामा आएको बाढीपछि बाजुरा जिल्ला हिमाली गाउँपालिका–६ पाँडीका दुई जना सम्पर्कविहीन भएका छन्।

पाँडी निवासी तथा हाल रसुवाको टिमुरे बजारमा बस्दै आएका मोहनलाल रोकाया र विक्रम भण्डारी गत बुधबार बिहानदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । उनीहरूलाई पटक–पटक फोन सम्पर्क गर्दा समेत फोन नलागेपछि परिवारजन चिन्तित भएका छन्।

बाढीको घटनापछि उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

परिवार तथा आफन्तले मोहनलाल रोकाया र विक्रम भण्डारीलाई कसैले देखेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए तत्काल ९८६–४५३०७४४ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

सम्पर्कविहीन दुवै जनाको सकुशल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई समेत पहल गर्न परिवारले अनुरोध गरेको छ।