नुवाकोटका बाढीपीडितलाई नेपाल तरुण दलको राहत


काठमाडौं । नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङको नेतृत्वमा बेलकोटगढी नगरपालिका–७, लामुसोती गाउँमा राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित तथा आवश्यकतामा रहेका स्थानीय परिवारलाई लत्ता कपडा, फाईवर ब्ल्याङ्‌केट २७ प्रिस, खाधान्नको मिक्स पोका सामान २९ पोका, चामल २८ बोरा, म्याट २६ पिस, झुल १५ पिस, त्रिपाल ११ पिस, बाल्टी १० पिस, स्यानिटरी प्याड, साबुन, फ्रुटी, दालमोट, चाउचाउ लगायतका अत्यावश्यक सामग्री वितरण गरेको नेपाल तरुण दल चितवनका सचिव स्वरुप गुरुङले बताए ।

विशेषगरी दैनिक उपभोगका सामग्री, लगाउने कपडा, ओढ्ने–ओछ्याउने सामग्री तथा महिलाका लागि आवश्यक स्यानिटरी प्याड उपलब्ध गराएर विपद्को समयमा प्रभावित परिवारको दैनिकी सहज बनाउने प्रयास गरिएको टोलीले जनाएको छ।

अमृत गुरुङको नेतृत्वमा चितवनबाट नुवाकोट पुगेको टोलीले राहत वितरणलाई केवल सामग्री हस्तान्तरणमा सीमित नराखी प्रभावित समुदायसँग प्रत्यक्ष जोडिने प्रयास गरेको जनाएको छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु र आवश्यक सहयोग पुर्‍याउनु मानवीय कर्तव्य भएको टोलीको भनाइ छ। राहत लिएर जाने टोलिमा युवा नेता अनिश पन्त, विवेक पाण्डे, सम्राट ठकुरी, अजय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बेलकोटगढी–७ लामुसोतीका प्रभावित नागरिकले विपद्को कठिन समयमा टाढाबाट आएर राहत सामग्रीसहित आफूहरूको अवस्था बुझ्न पुगेको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।