काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको नेपाली सेनाले जानकारी दिएको छ।
मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको सेनाले जानकारी दिएको हो।
जलविद्युत् आयोजनाका टनेलभित्र फसेकाहरूको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोमा टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटरसम्म खोजी कार्य गरेको छ।
लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी भइरहेको छ। त्रिशूली-३ ए हाइड्रोको टनेल हेड फेला परेकाले कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ।
टनेलभित्रको पानी निकाल्ने कामसँगै ३ वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। टनेलभित्र छिर्ने स्थान बनाउन रक ब्रेकरबाट ढुङ्गा फुटाउने कार्य भइरहेको छ।
त्रिशूली-३ बी आयोजनामा पनि विज्ञसहितको फौजले टनेलको प्रवेशद्वार पत्ता लगाई एक्साभेटर प्रयोग गरेर खन्ने काम गरिरहेको छ। बाढी आएलगत्तै विभिन्न हाइड्रो इलाकाहरूबाट हालसम्म २७९ जनाको जीवितै उद्धार गरिसकिएको छ।
जसअन्तर्गत रसुवागढीबाट २, माथिल्लो त्रिशूली १ बाट ३३, माथिल्लो त्रिशूली ३ ए बाट २२१, माथिल्लो त्रिशूली ३ बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत्बाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन्।




प्रतिक्रिया