सरकार बाढीपछि पुनःस्थापनामा केन्द्रित छ : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतबाट पुनःस्थापनातर्फ केन्द्रित भएको बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावितको जीवनरक्षा, स्वास्थ्य उपचार, राहत वितरण तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा निरन्तर साहस, धैर्य, साथ र सहयोग गर्ने संघ, प्रदेश तथा स्थानीय तह, सुरक्षाकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय समुदाय, स्वयंसेवी संस्था तथा स्वदेश–विदेशमा रहेका नागरिकप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि आवश्यक जनशक्ति परिचालन भइरहनेछ भने स्वास्थ्य उपचार तथा मनोपरामर्शसहित सरकार पुनःस्थापनाको काममा अघि बढेको छ।