कृष्णभिर माथिबाट नयाँ ट्र्याक खोलेर राजमार्ग सुचारू गर्ने


काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले  पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन पाँच निर्णय गरेको छ । मंगलबार बसेको बैठकले पाँच निर्णय गरेको हो।

निर्णयमा  तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनर्स्थापना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना बनाउने उल्लेख छ ।

यस्तै,  कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने उल्लेख छ । 

कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने उल्लेख गरिएको छ ।  

माथि उल्लिखित विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारी गर्ने निर्णयमा उल्लेख छ ।