रसुवाको ग्राउन्ड जिरोबाट नेपाल तरुण दलले मनायो बीपी जयन्ती


रसुवा । विनाशकारी बाढीबाट प्रभावित रसुवाको ग्राउन्ड जिरोबाट नेपाल तरुण दलले जननायक विश्वेश्वरप्रसाद(बीपी) कोइरालाको ११३औँ जन्मजयन्ती मनाएको छ।

विपद्पछि निरन्तर उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको तरुण दलले यसपटक बीपी जयन्तीलाई औपचारिक कार्यक्रमभन्दा जनताको दुःख र पीडासँग जोडेर मनाएको हो।

कार्यक्रमका क्रममा तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, प्रजातन्त्र र जनसेवाको विचारलाई स्मरण गर्दै विपद्को कठिन अवस्थामा नागरिकको साथमा उभिनु नै बीपीप्रतिको वास्तविक सम्मान भएको बताएका थिए।

रसुवामा आएको बाढीपछि नेपाल तरुण दलले प्रभावित क्षेत्रमा राहत वितरण, सरसफाइ, उद्धार तथा पुनःस्थापनालगायतका काममा सक्रियता देखाउँदै आएको छ। ⁠

तरुण दलले बीपी जयन्तीलाई केवल स्मरणको दिनका रूपमा नभई ‘जनताको दुःखमा साथ दिने, संकटमा अग्रपंक्तिमा उभिने र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने संकल्पको दिन’ का रूपमा मनाएको नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष संजय लामाले बताए ।

बाढीले तहसनहस बनाएको क्षेत्रमा पुगेर बीपी जयन्ती मनाउँदै तरुण दलले विपद्मा परेका नागरिकको पुनःस्थापना र जनसेवाको अभियानलाई अझ निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।