‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी किन फर्किए गृहमन्त्री सुधन ?


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् । निर्मित सालिकमा जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएका थिए । त्यसपछि गृहमन्त्री सुधन शालिक अनावरण नगरि फर्किएका हुन् ।

‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन । शालिक बनाउन लापरबाही गरिएको छ ,’ सहिद परिवारका एक सदस्यले भने ।

उक्त पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।

पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ ।