सरकारलाई शहीदकी आमाको प्रश्न– जेनजी शहीदहरूले कहिले न्याय पाउने ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।

जेनजी शहीदकी आमासमेत रहेकी उनले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो प्रश्न गरेकी हुन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति जनाइन् । उनका अनुसार बालेनलाई कार्यक्रममा आउन निमन्त्रणा दिइएको थियो । बिहान ७ बजेदेखि आग्रह गर्दा पनि साँझ ७ बजेमात्रै स्टाटस आएको भन्दै उनले असन्तुष्टि जनाइन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’

उनले त्यसपछि सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरिन् । ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?,’ उनले भनिन्।