काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले धादिङको सडक सम्पर्क विच्छेद भएको १५ दिन बितिसक्दा पनि सरकारले ठोस कदम नचालेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार जारी प्रतिनिधि सभाको बैठकमा उनले बाढीले फुर्के खोलाको पक्की पुल बगाउँदा सिर्जित समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘बाढी आएको आज १५ दिन भइसक्यो। सभामुख महोदय आफैँले स्थलगत अनुगमन गर्नुभएको छ, समस्याबारे जानकार हुनुहुन्छ। तर, धादिङ सदरमुकाम र राजधानीसँगको सम्पर्क टुटेको विषयमा सरकार अझै मौन छ,’ उनले भनिन् ।
पुल नहुँदा खाद्यान्न, औषधि र इन्धनको आपूर्ति रोकिएर जनजीवन कष्टकर बनेको उनले बताइन् ।
साथै सांसद थपलियाले बजारमा ग्यासको चर्को अभाव रहेको र नागरिक घण्टौँ लाइनमा बस्नुपरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘बजारमा ग्यासको हाहाकार छ, नागरिक लामबद्ध छन्, तर उद्योग मन्त्रीज्यू यस विषयमा बेखबर हुनुहुन्छ। जनताको भान्सासम्म ग्यास पुर्याउने वातावरण कहिले बन्छ ।’




प्रतिक्रिया