काठमाडौँ, २४ भदौ । सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न, होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद विदूषी राणाले रसुवा विपद् हिमालय क्षेत्रले दिएको पूर्वचेतावनी भएको जनाउँदै हिमनदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तरदेशीय सूचना आदानप्रदान र विपद् अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गरिन् ।
सांसद बिना गुरुङले भोटेकोशी विपद्ले जनधनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्याएको भन्दै बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल पुनःस्थापित गर्न तथा पर्यटन व्यवसायीलाई विशेष राहत दिन माग गरिन् ।
सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति लोकपथको नियमित मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद बुद्धिप्रसाद पन्थले जेनजी युवाले देखेको सपना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनमा सहभागी युवालाई झुटा मुद्दा लगाइएकामा आपत्ति जनाए ।
सांसद भरतकुमार स्वाँर र भरतप्रसाद पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजबिनलाई तीव्र बनाउन तथा बेपत्ताको दाहसंस्कारसम्बन्धी कानुनी व्यवस्था गर्न सुझाव दिए । सांसद भीमकुमारी बुढा मगरले भोटेकोशी बाढीमा फसेका नागरिकको उद्धारमा ढिलाइ हुँदा सम्पर्कविहीन नागरिकका परिवारजनमा पीडा थपिएको बताइन् ।
सांसद भरतबहादुर खड्काले डोटीको दिपायलबाट सरकारी कार्यालय अन्यत्र सारिँदा सरकारको लगानी खेर गएको भन्दै ती भवनको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मञ्जु भुसालले विनाशकारी भोटेकोशी बाढीमा हराइरहेका नागरिकको खोज, उद्धार र परिवारमा पुनर्निमलनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई सुझाव दिइन् । सांसद मधुकुमार चौलागाईँले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत र सुरक्षित स्थानमा पुनःस्थापना गराउन सकारको ध्यानाकर्षण गराए ।
सांसद मदनकृष्ण श्रेष्ठले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद मनमाया विश्वकर्माले निजामती सेवामा क्रियाशील ट्रेड युनियनका सम्पत्ति जफत गर्ने प्रक्रिया अविलम्ब रोक्न गर्न माग गरिन् ।
सांसद बलावती शर्माले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न माग गरिन् । सांसद मनिष खनालले जेनजी पुस्ताको माग सम्बोधन गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिए ।
सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद र घाइते परिवारले कहिले न्याय पाउँछन् भनी प्रश्न गरिन् । सांसद रजनी श्रेष्ठले जेनजी आन्दोलनका सहिद र घाइते परिवार तथा झुठा मुद्दा लागेकाले कहिले न्याय पाउने जिज्ञासा राखिन् ।
सांसद रिमा विश्वकर्माले जेनजी आन्दोनलका क्रममा युवामाथि लगाइएको झुठा मुद्दा फिर्ता र बन्दी युवालाई तत्काल रिहा गर्न माग गरिन् । सांसद रमेश प्रसाईले जेनजी आन्दोलनमाथि दमन गर्नेमाथि कारबाही नहुँदा चौतर्फी प्रश्न उठिरहेको बताए । सांसद बसुमाया तामाङले ग्यासको कृत्रिम अभाव हुँदा साना व्यवसायी मारमा परेको उल्लेख गर्दै तत्काल ग्यासको बिक्रीवितरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद मोहनलाल आचार्यले बाढीमा बेपत्ताको खोजी गर्न सरकारसँग अपिल गरे । सांसद मोहम्मद फिरदोश आलमले बाढीप्रभावतलाई तत्काल सुरक्षित स्थानमा स्थानन्तरण गर्न, पीडितलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद युवराज दुलालले बाढीमा बेपत्ता सिन्धुपाल्चोकका २३९ जनाको खोजी कार्य प्रभावकारी बनाउन माग गर्दै नदी तटीय वस्तीमा पूर्वचेतावनी प्रणाली जडान गर्न सुझाव दिए । सांसद रमेशकुमार सापकोटाले नेपाललाई सहानुभूति नभई जलवायु न्याय चाहिएको बताए ।
सांसद यशोधा कुमारीले तराईरमधेसमा विषालु सर्पको बिगबिगी बढेको भन्दै तत्काल ‘एन्टीस्नेक भेनम’ उपलब्ध गराउन सरकारसँग माग गरिन् । सांसद यज्ञबहादुर बोगटीले अछाममा विद्युत् विस्तारका लागि ठेक्का भएको पाँच वर्ष पुगे पनि ग्रामीण वस्तीमा विद्युतीकरणको योजना अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रत्नाकुमारी थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाको खोज र उद्धारलाई थप तीव्र बनाउन माग गरिन् । सांसद रञ्जु न्यौपानेले विपत्तिलाई अन्तरराष्ट्रिय जगत्मा स्पष्टसँग उठाएर जलवायु न्यायलाई जोडदाररुपमा उठाउनुपर्ने धारणा राखिन् ।
सांसद रमेशकुमार मल्लले राप्ती लोकमार्गअन्तर्गत सल्यानको खारकोलामा गएको पहिरोमा परी त्रिवेणी गाउँपालिकाका युवा मदन पुनको निधन भएको जनाउँदै तत्काल सडक स्तरोन्नति गरी नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरू राजन गौतम, राजीव खत्री, राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रिना उप्रेती, रुकेश रञ्जित, रुक्मणीदेवी कोइराल, रुविना आचार्य, रेखाकुमारी यादव, रेनुका काउचा र माधवबहादुर थापा जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही तथा भोटेकोशी बाढीमा निधन भएकोमा व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य उपचार, विस्थापितलाई सुरक्षित स्थानमा पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया