काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गट कृष्णभीरमा खसेको पहिरोले १० दिनदेखि सडक अवरुद्ध हुँदा प्रयोग गरिएको हेटौँडा–काठमाडौं सडकमा सवारीको चाप बढेको छ । मुख्य बाटोबाट आवागमन हुन नसकेपछि सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा–काठमाडौं सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको हो।
चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि सानाठूला गाडीलाई काठमाडौं–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रुटको व्यवस्था गरेको छ । १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौंतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ ।
हेटौँडाबाट काठमाडौंतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रुट तोकिएको छ । काठमाडौंबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।
साँघुरो पहाडी सडकमा एकैपटक बढेको ट्रक, बस तथा अरू सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसबाट नियमित आवागमन मात्र होइन, काठमाडौंका निम्ति अत्यावश्यक वस्तु तथा ग्यासलगायत सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ ।
कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् ।




प्रतिक्रिया