बाढीपीडितका लागि वाग्मती सरकारले घर बनाइदिने


भक्तपुर । भोटेकोशी बाढीपीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा वाग्मती सरकारले घर बनाइदिने भएको छ । 

वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीपीडितको पुनर्वासको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन् । त्रिशूली नदीको दायाँ-बायाँ अब बस्ती बसाउन नहुने भन्दै उनले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर बनाइदिने सहमति भएको दाबी गरे । ”वाग्मती प्रदेश सरकारले घरबार गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ । त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ,” उनले भने । 

नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति  भएको र रसुवाका लागि जग्गा खोजी रहेको उनले बताए ।    मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ” बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ,” उनले भने । 

प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिन प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको उनको दाबी छ । रासस