काठमाडौ । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको भदौ २७ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गुरुङले भदौ २३ गतेपछिको राजनीतिक परिस्थितिमा देश अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको उल्लेख गरेका छन्। राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनेको र पुरानो नेतृत्व स्वीकार्य नभएको अवस्थामा नयाँ नेतृत्व चयन गर्नु चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
देश लामो समय शक्ति रिक्तताको अवस्थामा रहनु उचित नहुने भन्दै उनले त्यसबेला एक नागरिकका रूपमा आफ्नो एउटै चाहना देशले निकास पाओस् र राज्य सञ्चालनमा आओस् भन्ने रहेको बताएका छन्।
भदौ २७ गते देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा पनि आएको उल्लेख गर्दै गुरुङले राष्ट्रपति कार्यालय पुग्दाको अवस्था स्मरण गरेका छन्। राष्ट्रपति कार्यालय पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट रहेको तथा एक थोपा पानी र अन्नसमेत मुखमा नपरेको उनले बताएका छन्।
करिब नौ घण्टासम्मको प्रतीक्षाका क्रममा अन्योलता रहे पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू रहेको गुरुङले उल्लेख गरेका छन्। बाहिर सिंगो देश पर्खिरहेको अवस्थामा अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको उनले बताएका छन्।
कार्की चुनावी सरकारको प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएको र हलुका भएको महसुस गरेको गुरुङको भनाइ छ। त्यससँगै देशले पनि निकास पाएको अनुभूति भएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार उक्त परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट निर्माण भएको थियो। आफ्नो भागमा आएको जिम्मेवारी आफूले सकेसम्म पूरा गरेको उल्लेख गर्दै गुरुङले भदौ २७ गते सम्झिँदा कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता व्यक्त गरेका छन्।
कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते निर्वाचन गराएको थियो। उक्त निर्वाचनपछि बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सोही सरकारमा गुरुङ गृहमन्त्री छन्।




प्रतिक्रिया