काठमाडौँ । भारतका लागि नयाँ नेपाली राजदूत नियुक्तिको प्रक्रिया तीव्रताका साथ अघि बढिरहँदा कूटनीतिक मामिलाका विज्ञ डा. निश्चलनाथ पाण्डेको नाम मुख्य दाबेदारका रूपमा अगाडि आएको छ । पूर्वप्रधानसेनापति गौरवशमशेर जबरासहित अन्य व्यक्तिहरूको चर्चा रहे तापनि नयाँ दिल्लीसँगको कूटनीतिक सन्तुलन र रणनीतिक संवादका लागि डा. पाण्डे नै परिपक्व विकल्प भएको परराष्ट्र स्रोतले जनाएको छ ।
नयाँ दिल्लीस्थित नेपाली नियोग औपचारिक शिष्टाचारमा सीमित रहन नसक्ने भएकाले भू-राजनीतिक जटिलता बुझेका र स्थापित कूटनीतिक छवि बनाएका डा. पाण्डेलाई कुशल व्यक्तित्वको महसुस गरिँदै आएको छ। कूटनीतिक वृत्तका अनुसार विषयगत ज्ञान, अनुसन्धान र वैश्विक पहुँचका दृष्टिले डा. पाण्डेलाई रणनीतिक रूपमा सबल उम्मेदवार मानिएको हो ।
भारतीय नीति निर्माण तह, थिंक–ट्याङ्क र कूटनीतिक वृत्तमा स्थापित सम्बन्ध भएकाले डा. पाण्डेले भारत सरकारका माथिल्ला निकायहरूसँग प्रत्यक्ष र प्रभावकारी संवाद गर्न सक्ने विश्लेषण गरिएको छ ।
डा. पाण्डे नेपालका एक स्थापित तथा वरिष्ठ कूटनीतिक मामिलाका विज्ञ, भू-राजनीतिक विश्लेषक र प्राज्ञ हुन्। उनले नेपालको परराष्ट्र नीति, दक्षिण एसियाली देशहरूको सम्बन्ध र क्षेत्रीय कूटनीतिका क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।




प्रतिक्रिया