चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित भएको छ।
चितवनतर्फको मुग्लिन–मौवाखोला सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यता, धादिङतर्फको सडकखण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि उक्त क्षेत्रमा साना सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। लगातारको वर्षाका कारण सडक थप क्षतिग्रस्त हुँदै गएपछि यहाँबाट यात्रा गर्नु जोखिमपूर्ण बनेको छ।
यसैगरी, इच्छाकामना–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोबाट निरन्तर ढुंगा खसिरहेका कारण सडकमा जम्मा भएको माटो तथा ढुंगा हटाउनसमेत कठिनाइ भइरहेको छ।
सडक भासिने र पहिरो खस्ने क्रम नरोकिएकाले पृथ्वी राजमार्गमा सवारी सञ्चालन चुनौतीपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्थालाई निरन्तर निगरानी गर्दै जोखिमको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।




प्रतिक्रिया