प्रधानमन्त्री बालेन स्वदेश फर्किएसँगै अर्थमन्त्री वाग्ले कतार प्रस्थान


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा मन्त्री वाग्लेसहित अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि सहभागी रहेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने बताइएको छ ।

त्यस्तै, उनले एसियाली पूर्वाधार विकास बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उक्त भ्रमण सकेर अर्थमन्त्री वाग्ले असोज १४ गते बुधबार स्वदेश फिर्ता हुनेछन् ।