बुटवल । लगातार वर्षापछि गएको पहिरोमा परी पाल्पामा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्।
माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
माथागढी–३ कसेनीमा आइतबार बिहान पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिलबहादुरसहित झरना घर्ती र दिना घर्ती बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको छ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले सडक अवरुद्ध गर्नुका साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ। माडीफाँटलगायत क्षेत्रमा बाढी पस्दा धानबालीमा क्षति पुगेको छ भने रानीमहल क्षेत्रका होटल तथा रेस्टुरेन्टमा समेत पानी पसेको छ।
जिल्लाका झडेवा, हार्थोक–छहरा, बासटारी–झडेवा र आर्यभञ्ज्याङ–रामपुरलगायत क्षेत्रमा पहिरोको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया