कुलेखानी–फाखेल सडक भासिएपछि यातायात बन्द


मकवानपुर । अविरल वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड भासिएपछि यातायात बन्द गरिएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ किटिनीमा सडकको ठूलो भाग भासिएपछि सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो। यसअघि पनि वर्षाका कारण क्षति पुगेको उक्त सडकमा मर्मतपछि यातायात सञ्चालन हुँदै आएको थियो।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार अहिले वर्षा भइरहेकाले तत्काल मर्मत सम्भव छैन। सडकको जियोटेक्निकल अध्ययन भइरहेको र अध्ययनपछि स्थायी समाधानबारे निर्णय गरिनेछ।

हाल हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वर्षा रोकिएपछि अवस्था हेरेर एकतर्फी सवारी सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ।