सोमबारदेखि वीरगञ्जमा वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था


वीरगञ्ज  । अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था लागू गरेको छ ।

सोमबारदेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्लन गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले जानकारी दिए । उनले भने, “यहाँका नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरपालिकाको नीतिअनुसार वडा कार्यालयबाटै मालपोत कर बुझाउने व्यवस्था गरिएको छ, योसँगै अब मालपोत कर तिर्न महानगरपालिकाको मुख्य कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।”

प्रमुख प्रशासकीय अधिकृत बोहराले कर सङ्लनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका सबै वडा कार्यालयलाई निर्देशन दिइसकेको पनि बताए ।  महानगरपालिकाले सूचना पनि जारी गरी नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरेको छ ।

नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था गरिएको र यो व्यवस्था प्रभावकारी हुने महानगरको भनाइ छ । रासस