काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार दर्जनौँ सडकखण्डमा पहिरो, लेदो र ढुंगा खस्दा यातायात प्रभावित भएको छ।
पाल्पाको तानसेन–१४ स्थित गाईघाट–तानसेन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। ललितपुरको टाकुर्चेमा लेदोसहित पहिरो खसेको तथा पाङदुरडोलमा भिरबाट ढुंगा खसेपछि कान्ति लोकपथसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लमजुङमा खरखरे भीरमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा बन्द छ। आँपचौर क्षेत्रमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग सडक भासिएर यातायात ठप्प भएको छ।
स्याङ्जाको पुतलीबजार–१ स्थित तिनधारे, सार्वजनिक शौचालय र बसपार्क क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। तनहुँमा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
हुम्लाको सर्केगार्ड–१ खच्चामा पहिरो गएपछि कर्णाली करिडोर अवरुद्ध भएको छ भने नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरमा पनि यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको जोमसोम–कोरला सडकखण्ड र दार्चुलाको महाकाली राजमार्गसमेत अवरुद्ध छन्।
यसैगरी म्याग्दीको बेनी–जोमसोम सडक, मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, तुलसीपुर–घोराही सडक र जोमसोम–कोरला सडकमा समेत यातायात प्रभावित भएको छ।
काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्ग, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गुल्मीको सिस्नेभिर–रुद्रबिनी–वामीटक्सार सडक, बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र कालिकोटको कर्णाली राजमार्गमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। गुल्मीका अन्य राजमार्गहरूमा समेत अवरोध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




प्रतिक्रिया