जिब्रो छेड्ने श्रेष्ठलाई दुई लाखसहित सम्मान


भक्तपुर, १२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरेका छन् । श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेका हुन् ।

थिमिमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण तथा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहनस्वरुप उक्त रकम प्रदान गरेको जनाएको छ ।

सो अवसरमा प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । मुख्यमन्त्री थापाले ऐतिहासिक कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदासँगै जात्रा तथा पर्वको संरक्षणमा प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताए ।

उनले ऐतिहासिक सम्पदा, जात्रा तथा पर्वलाई पर्यटनसँग जोडेर भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताए ।