काठमाडौँ । लगातारको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। थप पहिरो वा अन्य कुनै अप्रत्याशित अवरोध नआएमा दिउँसो १ बजेपछि राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनका लागि खुला गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा ठूला पहिरा खसेका थिए। सडक भासिएपछि अवरुद्ध बनेको उक्त राजमार्गमा थुप्रिएको पहिरो तथा गेग्रान हटाएर हाल एकतर्फी रूपमा मात्रै सवारी आवागमन सञ्चालन गरिँदै आइएको छ। सडकलाई पूर्ण रूपमा खुलाउनका लागि पन्छाउने काम निरन्तर जारी रहेको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न जोखिमयुक्त स्थानहरूमा जुनसुकै समयमा पुनः पहिरो खस्न सक्ने सम्भावना कायमै रहेको प्रशासनले स्पष्ट पारेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सावधानीपूर्वक यात्रा गर्न र यात्राका क्रममा ट्राफिक नियम तथा सडक अनुशासनको पूर्ण पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।




प्रतिक्रिया