काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार (असोज २४) संवाददातासँग उनले बाढीपछिको पुनर्निर्माणका निम्ति अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए । योसँगै बाढी विपद् प्रतिकार्यका निम्ति अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको उनले बताए ।
उनले ‘प्रि–कोप लिडर्स प्लेनरी’मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु संकटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको उल्लेख गरे ।
कोप–३१ का निम्ति नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिएका थिए । आउँदो नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार र प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको थियो ।
यस्तै, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । रासस




प्रतिक्रिया