काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता तामाङले परराष्ट्र नीतिको निरन्तरता र छिमेकी सम्बन्धका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्।
‘नेपाल र भारतबीच परापूर्वकालदेखि ऐतिहासिक सम्बन्ध रहे पनि राजनीतिक र प्रशासनिक तहमा भने सोचेजस्तो मिठो सम्बन्ध हुन सकेको छैन,’ तामाङले भने, ‘नेपालको भौगोलिक अखण्डतामाथि विगतमा भारतको हेपाहा प्रवृत्ति देखिएकै हो। दसगजाका सीमा पिल्लर सारिनुका साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका जनताले भारतीय थिचोमिचोबाट निरन्तर पीडा भोग्दै आएका छन्।’
उनले विगतमा भारतीय प्रहरीले बानेश्वरसम्मै आएर छापा मारेको प्रसङ्ग उल्लेख गर्दै दुवै देशले यस्ता समस्या समाधान गरेर मात्र सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
सरकार फेरिए पनि देशको परराष्ट्र नीति परिवर्तन हुन नहुने बताउँदै एमाले नेता तामाङले अर्थमन्त्रीको कूटनीतिक शैलीमाथि टिप्पणी गरे। ‘सरकार परिवर्तन भए पनि असंलग्न र सन्तुलित परराष्ट्र नीति डगमगाउनु हुँदैन। अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा किन लम्पसार पर्नुपरेको हो, बुझ्न सकिएन,’ उनले भने, ‘छिमेकी मित्रराष्ट्रहरूसँगको ऐतिहासिक सम्बन्धलाई बरदानका रूपमा लिँदै भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्छ।’
तामाङले प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा १८ हजार मेगावाटको कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउने सम्झौता गर्न सुझाव दिएका छन्। उक्त आयोजना अघि बढेमा दुवै देशलाई ठूलो लाभ पुग्नुका साथै नेपाली जनतालाई घरायसी प्रयोजनका लागि निःशुल्क बिजुली उपलब्ध गराउन सकिने उनको दाबी छ।
यस्तै, चाडबाडको समयमा बजारमा महँगी नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने तामाङले बताए। वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बालेन शाह नेतृत्वको सरकारले यति काम गर्यो भनेर ठ्याक्कै देखाउन सक्ने कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन। जनताको आशा र भरोसामाथि यो सरकारले तुषारापात नगरोस्।’
एमाले तत्काल आन्दोलनमा जाने मनस्थितिमा नरहेको स्पष्ट पार्दै तामाङले सरकारले जनअपेक्षाअनुसार काम नगरे प्रतिपक्षका रूपमा सशक्त ढङ्गले खबरदारी गर्ने बताए।





प्रतिक्रिया