जागरण अभियान सरकारविरुद्ध आन्दोलनका लागि होइन, साङ्गठनिक सुदृढीकरणका लागि हो– नेकपा


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि राष्ट्रिय जनजागरण अभियान शुरु गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले अभियानको मूल ध्येय सरकारविरुद्धको आन्दोलन नभई साङ्गठनिक सुदृढीकरण र स्थानीय तह निर्वाचनमा लक्षित रहेको स्पष्ट पारे ।

नेता सापकोटाले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना गरिने बताए । प्रधानमन्त्री बालेन शाहले पुराना दलका नेताहरूको अनुभवलाई समेटेर अघि बढ्न नचाहेको आरोप लगाउँदै उनले कर्मचारी, सुरक्षाकर्मी र निजी क्षेत्रजस्ता महत्त्वपूर्ण पक्षहरूसँग सरकारले दूरी बढाएको दाबी गरे ।

सरकारको यही रवैयाका कारण आम जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै नेता सापकोटाले चाडपर्वका बेला भएको ग्यास अभाव त्यसैको उदाहरण भएको बताए । ‘दशैँ-तिहार जस्ता चाडबाडका समयमा समेत जनताले ग्यासको अभाव भोग्नुपर्ने स्थिति सरकारकै कमजोरीका कारण उत्पन्न भएको हो,’ उनले भने, ‘यस्ता जनजीविकासँग जोडिएका विषयमा हामी निरन्तर खबरदारी गर्छौँ । सरकार निरङ्कुशता र अराजकताको बाटोमा हिँडे हामीलाई स्वीकार्य हुँदैन ।’

यसैगरी, नेकपालाई युग सुहाउँदो कम्युनिस्ट पार्टीका रूपमा विकास गर्न आफूहरू सजग रहेको उनले बताए । आफ्ना शीर्ष र अग्रज नेताहरू र पार्टीको इतिहासलाई पूर्ण सम्मान गर्दै नेकपाले युवा नेतृत्वको विकास र प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाउने सापकोटाको भनाइ छ ।