भद्रपुर (झापा), १० कात्तिक । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन् । ती घटनामा एक जना घाइते भएका छन् भने रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन् । ती घटनाबाट रु तीन लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चट्याङको एउटा घटनाबाट रु एक लाख बराबरको क्षति भएको छ । प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया