काठमाडौँ । युक्रेनको रुसको कब्जामा रहेको ओलेश्की सहरमा युद्धविराम सुरु भएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक साताअघि घोषणा गरेको युद्धविराम मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले लागू गरिएको हो ।
रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार मानवीय सहायता अभियानको तयारीस्वरूप मस्को समयअनुसार बिहान ४ बजे (जीएमटी १ बजे) युक्रेनी सहर खेरसोनतर्फको गोलीबारी रोकिएको थियो ।
ओलेश्की निप्रो नदीको दक्षिणी किनारमा अवस्थित छ । उक्त नदीले खेरसोन क्षेत्रमा रुस र युक्रेनबीचको अग्रपंक्तिको सीमा निर्धारण गरेको छ । युद्धका कारण सहरमा बाँकी रहेका सर्वसाधारण खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको चरम अभाव झेलिरहेका छन् ।
युक्रेनी संसद्का मानव अधिकार आयुक्त दिमित्रो लुबिनेत्सले सामाजिक सञ्जालमार्फत युद्धविराम सुरु भएको पुष्टि गरेका छन् । ‘युक्रेनी वार्ता टोलीको प्रमुखका रूपमा म पुष्टि गर्छु कि युक्रेनी पक्षले आफ्ना प्रतिबद्धता पालना गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
सहरमा अझै ६ हजार मानिस
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको केही दिनमै ओलेश्की कब्जा गरेको थियो । निप्रो नदीको अर्कोपट्टि युक्रेनी सेना र पूर्वतर्फ रुसी सेनाको उपस्थितिबीच सर्वसाधारण सहरमै फसेका थिए । उनीहरूले खाद्यान्नलगायत आधारभूत आवश्यकताको अभाव झेल्दै आएका छन् ।
युद्धअघि ओलेश्कीमा करिब २४ हजार मानिस बसोबास गर्थे । युक्रेनको अनुमानअनुसार अहिले सहर र आसपासका क्षेत्रमा करिब ६ हजार मानिस बाँकी छन् । तीमध्ये करिब २०० जना बालबालिका छन् ।
मानवीय संकट गहिरिँदै गएपछि सर्वसाधारणलाई सहायता पुर्याउन र सुरक्षित स्थानमा सार्न युद्धविराम आवश्यक भएको बताइएको छ ।
मेलानिया ट्रम्पको मध्यस्थतामा युद्धविराम
अमेरिकी ह्वाइट हाउसले गत साता मेलानिया ट्रम्पले ओलेश्कीमा युद्धविराम गराउन भूमिका खेलेको जनाएको थियो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा दुवै देशका गैरसैनिक तथा नागरिक नेतृत्वका प्रतिनिधिहरूले ओलेश्कीका बासिन्दाको घरमै पुगेर उनीहरूलाई आवश्यक पर्ने सहायताको मूल्याङ्कन गर्ने उल्लेख गरिएको थियो ।
‘दुवै देशका गैरसैनिक नागरिक नेतृत्वले ओलेश्कीका बासिन्दालाई उनीहरूकै घरमा भेटेर आवश्यक सहायताको स्तर निर्धारण गर्नेछन्,’ विज्ञप्तिमा भनिएको थियो ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्ना केही पूर्ववर्तीको तुलनामा सार्वजनिक रूपमा कम सक्रिय देखिने गरे पनि रुस–युक्रेन युद्धबाट उत्पन्न मानवीय समस्यामा संलग्न हुँदै आएकी छन् । सन् २०२५ अगस्टमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेख्दै विश्वभरका बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि कदम चाल्ने समय आएको उल्लेख गरेकी थिइन् ।
ओलेश्कीमा सुरु भएको युद्धविरामले युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणलाई राहत पुर्याउने अपेक्षा गरिएको छ । यद्यपि यो युद्धविराम कति समयसम्म कायम रहने र मानवीय सहायता अभियान कति प्रभावकारी हुने भन्ने विषय अझै स्पष्ट भएको छैन ।एजेन्सी




प्रतिक्रिया