मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प


न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । 

निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै समयमा जर्जिया र ओहायोमा छुट्टाछुट्टै चुनावी र्‍याली गर्दै एकअर्कामाथि आलोचना गरेका छन् ।

बुधबार जर्जियाको एटलान्टा महानगर क्षेत्रमा आयोजित सभामा पूर्वराष्ट्रपति ओबामाले ट्रम्प प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाउँदै इरानसँगको युद्धबारे पनि आलोचना गरे । उता ओहायोमा आयोजित सभामा ट्रम्पले ओबामाको चुनावी प्रचारले खासै प्रभाव नपार्ने दाबी गरे ।

दुवै नेताले यसअघि ह्वाइट हाउसको आन्तरिक सजावटलाई ‘चिजकेक फ्याक्ट्री’सँग तुलना गरेको विषयमा भएको विवादलाई पुनः उठाएका छन् । ओबामाले ट्रम्पको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै आफ्नो टिप्पणीले उनलाई निकै आक्रोशित बनाएको बताएका छन् ।

यो विवाद ओबामाले ट्रम्पको ह्वाइट हाउसको सजावटलाई प्रसिद्ध अमेरिकी रेस्टुरेन्ट चिजकेक फ्याक्ट्रीसँग तुलना गरेपछि सुरु भएको हो । ओबामाले आफूले ट्रम्पको तुलना इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनसँग गर्दा खासै प्रतिक्रिया नआएको तर सजावटबारेको टिप्पणीले ट्रम्पलाई निकै असन्तुष्ट बनाएको बताएका थिए ।

सीएनएनका अनुसार, निर्वाचनको अन्तिम चरणमा दुवै पार्टीले आफ्ना प्रभावशाली नेताहरूलाई प्रचारप्रसारमा उतारिरहेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न शीर्ष नेताहरूले देशका विभिन्न क्षेत्रमा चुनावी सभा गरिरहेका छन् ।

अलास्काको सिनेट निर्वाचनमा ‘स्पोइलर’ उम्मेदवारको विवाद

मध्यावधि निर्वाचनको प्रचारका क्रममा अलास्काको सिनेट निर्वाचनमा पनि विवाद चर्किएको छ । ट्रम्पले डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलालाई सिनेटको प्रतिस्पर्धाबाट पछि हट्न आग्रह गरेका छन् । पेल्टोलाको चुनावी टोलीले डमी उम्मेदवारलाई मैदानमा उतार्न सहयोग गरेको भन्ने समाचार सार्वजनिक भएपछि ट्रम्पले उनीमाथि आपराधिक अभियोग लगाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

न्यु योर्क टाइम्सको रिपोर्टअनुसार, पेल्टोलासँग सम्बन्धित डेमोक्रेटिक रणनीतिकारहरूले सिनेटका रिपब्लिकन उम्मेदवार ड्यान सुलिभानको मत काट्न सक्ने अर्को उम्मेदवारलाई निर्वाचनमा उठ्न मनाएका थिए । उक्त उम्मेदवारको नाम पनि ड्यान सुलिभान नै रहेको बताइएको छ ।

तर पेल्टोलाको चुनावी अभियान र डेमोक्रेटिक सिनेटरियल क्याम्पेन कमिटीले कथित योजनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । सुलिभानले पेल्टोलामाथि अलास्काका मतदातालाई भ्रममा पारेको आरोप लगाएका छन् । उनले आफ्नो चुनावी अभियान उपलब्धिहरूमा केन्द्रित रहने बताएका छन् ।

मिसिगनमा डेमोक्रेटिक उम्मेदवारको विज्ञापनमाथि विवाद

मिसिगनको सिनेट निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सयदका विवादास्पद विज्ञापनलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ । डेमोक्रेटिक सांसद हेली स्टिभेन्सले एल–सयदलाई समर्थन गर्ने आफ्नो धारणा दोहोर्‍याउँदै उनका विज्ञापनले चोट पुर्‍याएका व्यक्तिहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले एल–सयदले ती विज्ञापनको निन्दा गर्न र हटाउन सक्ने विश्वास व्यक्त गरेकी छन् । स्टिभेन्सले विवादका बाबजुद आफू डेमोक्रेटिक उम्मेदवारलाई नै मत दिने बताएकी छन् । उनले अभियानलाई घृणायुक्त अभिव्यक्तिबाट टाढा रहन र त्यसको स्पष्ट विरोध गर्न आग्रह गरेकी छन् ।

यसैबीच, सिनेटर बर्नी स्यान्डर्सले एल–सयदको मुस्लिम धर्मलाई लिएर ट्रम्पले गरेका टिप्पणीलाई ‘घृणित’ भनेका छन् ।

टेक्सासमा मतगणनासम्बन्धी मुद्दा

टेक्सासको पोटर काउन्टीका रिपब्लिकन पार्टीका नेताहरूले निर्वाचनको अन्तिम नतिजा प्रमाणित गर्नुअघि सबै मतपत्र हातैले गन्नुपर्ने माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

विदेशी ह्याकर वा एआईका कारण मतगणनामा त्रुटि हुन सक्ने भन्दै उनीहरूले पूर्ण रूपमा हातले मतगणना गर्नुपर्ने माग गरेका हुन् । टेक्सासको कानुनले निर्वाचनपछि केही मतपत्रको नमुना छनोट गरी हातैले परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । तर रिपब्लिकन पक्षले उक्त व्यवस्था पर्याप्त नभएको दाबी गरेको छ ।

यस मुद्दाको सुनुवाइ राष्ट्रपति ट्रम्पबाट नियुक्त संघीय न्यायाधीश म्याथ्यु कास्मारिकले गरिरहेका छन् । अलास्कामा पनि निर्वाचनको नतिजा प्रमाणित गर्ने प्रक्रियालाई रोक्न सक्ने सम्भावित मुद्दामा न्याय विभागविरुद्ध डेमोक्रेटिक पार्टी र गैरदलीय मतदाता अधिकार समूहलाई अदालतमा सहभागी हुन अनुमति दिइएको छ ।

न्यू ह्याम्पसायरमा पनि सिनेट निर्वाचनको प्रतिस्पर्धा

न्यू ह्याम्पसायरको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार जोन ई. सुनुनु र डेमोक्रेटिक उम्मेदवार क्रिस पापासबीच बुधबार भएको बहसमा दुवै पक्षले आफ्ना प्रतिद्वन्द्वीका राजनीतिक समर्थकलाई आलोचनाको विषय बनाएका छन् ।

सुनुनुले पूर्वउपराष्ट्रपति कमला ह्यारिस र क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमसँग पापासले गरेको चुनावी सहकार्यको आलोचना गरेका थिए । पापासले भने ट्रम्पको समर्थन पाएको सुनुनुमाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।

ट्रम्पको कमजोर लोकप्रियताले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीलाई फाइदा पुग्न सक्ने अनुमान गरिएको छ । तर राष्ट्रिय स्तरमा डेमोक्रेटिक पार्टीप्रतिको मतदाताको धारणा पनि सकारात्मक नरहेको सर्वेक्षणहरूले देखाएका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा र सिनेटमा वश्र्चश्वका लागि दुवै पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनअघि शीर्ष नेताहरूको सक्रियता, विवादास्पद विज्ञापन, मतगणनासम्बन्धी मुद्दा र राजनीतिक आरोप–प्रत्यारोपले चुनावी माहोल थप तातेको छ ।

सीएनएनबाट