काठमाडौं । क्यानाडामा बस्दै आएका ‘वंशजको नागरिकता खै ?‘ अभियानका अभियन्ता डा. मित्र काफ्लेले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई वंशजको नागरिकता निरन्तरता नदिएसम्म नेपालको वास्तविक विकास सम्भव नहुने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काफ्लेले आफूहरू जन्मजात नेपाली वंशज भएकाले वंशजकै नागरिकका रूपमा देशको सेवा गरेर यहीँ मर्न पाउनुपर्ने अधिकार रहेको बताए।
२०६३ सालको नागरिकता ऐनप्रति कडा आपत्ति जनाउँदै उनले नेताहरूले विदेशमा रहेका नागरिकहरूलाई पत्तै नदिई वंशजको नागरिकता खारेज गर्ने काम गरेको आरोप लगाए।
‘हामी क्यानडामा सुतिरहेका बेला नेताहरूले हाम्रो वंशजको नागरिकता खारेज गरे,’ काफ्लेले भने, ‘राज्यले वंशजको नागरिकता त्यसै खारेज गर्न मिल्दैन। अहिले वास्तविक वंशजका नागरिकलाई पाखा लगाएर आयातीत व्यक्तिहरूलाई नेपाली वंशजको नागरिक बनाउने खेल भइरहेको छ।’
काफ्लेले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वंशजको नागरिकता निरन्तरता दिने प्रतिबद्धतासहित आफूहरूसँग सम्झौता गरेको बताए। वैदेशिक रोजगारी र अध्ययनमा रहेका नेपालीहरूले सामाजिक सञ्जाल र घर–घरमा दबाब सिर्जना गरेरै रास्वपालाई चुनाव जिताएको उनको भनाइ थियो।
सोही क्रममा आफूले १०–१५ दिनअघि रास्वपा सभापति रवि लामिछानेसँग आधा घण्टा लामो भेटवार्ता गरेको जानकारी दिँदै काफ्लेले भने, ‘भेटमा मैले वंशजको नागरिकता निरन्तरताको मुद्दा उठाएको थिएँ। रविजीले आउँदो हिउँदे अधिवेशनबाट यो प्रस्ताव पास गराएर वंशजको नागरिकतालाई निरन्तरता दिने वचन दिनुभएको छ। उहाँले दिएको वचन पूरा गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’
सरकारले ल्याएको गैरआवासीय नेपाली (एनआरएनए) नागरिकताप्रति असन्तुष्टि जनाउँदै काफ्लेले आफूहरूले वंशजको नागरिकता कहिल्यै नत्याग्ने स्पष्ट पारे। ‘हामी वंशजको नागरिकता त्यागेर एनआरएनए नागरिकताको खोस्टो लिएर बस्नेवाला छैनौँ,’ उनले भने, ‘कसैले आफूखुसी वंशजको हक छाड्छ भने उसलाई एनआरएनए नागरिकता दिए हुन्छ।’
विदेशको नागरिकता त्यागेर नेपाल फर्किँदा उता पाइने सेवा-सुविधा र पेन्सन गुम्ने प्रस्ट पार्दै काफ्लेले दोहोरो नागरिकताको प्रावधान वा नेपाली वंशजको नागरिकताको निरन्तरता कायम भए विदेशमा रहेका लाखौँ नेपालीले पाउने अर्बौँ रूपैयाँ पेन्सन मात्रै पनि स्वदेश भित्र्याएर विकास निर्माणमा लगाउन सकिने उनले बताए।
विदेशमा बस्ने नेपाली नागरिकको नेपालको राजनीतिमा कुनै स्वार्थ नरहेको र उनीहरूको एक मात्र उद्देश्य देशको उन्नति गर्नु रहेको काफ्लेको भनाइ छ।




प्रतिक्रिया