काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । पुष्टि नभएका विषयलाई अनुमानका आधारमा सार्वजनिक गर्दा नागरिकमा भ्रम फैलिने र प्रहरी सङ्गठनको छविमा असर पर्ने प्रहरीको भनाइ छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरिएको छ ।
प्रहरीले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न पनि अनुरोध गरेको छ । नागरिकको सत्यतथ्य सूचना प्राप्त गर्ने अधिकारको सम्मान गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
सङ्गठनले सरकारको नीति तथा निर्देशनअनुसार संवैधानिक र कानुनी जिम्मेवारी निर्वाह गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै प्रहरीको प्रतिष्ठा र कार्यसम्पादनमा भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाएको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही अघि बढाइने चेतावनी दिएको छ ।






प्रतिक्रिया