काठमाडौं । सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र प्रविधिमैत्री सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित नेपाल–भारत सशस्त्र प्रहरीबीचको १०औँ समन्वय बैठक सम्पन्न भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौंमा सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने सहमति भएको हो।

बैठकमा दशगजा क्षेत्रको अतिक्रमण, अनधिकृत खेतीपाती र अवैध संरचना हटाउने तथा सीमा स्तम्भको मर्मत, सम्भार र पुनर्निर्माणमा सहकार्य गर्ने निर्णय भएको छ।
त्यस्तै मानव बेचबिखन, लागूऔषध तस्करी, नक्कली नोटको कारोबार तथा तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत नियन्त्रण गर्न संयुक्त प्रयास र सूचनाको आदानप्रदानलाई निरन्तरता दिने सहमति भएको छ।
सीमा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन प्रमुख नाकामा लगेज स्क्यानर, वाक–थ्रु मेटल डिटेक्टर, दशगजा क्षेत्रमा सीसीटीभी तथा ड्रोन निगरानी विस्तार गर्ने विषयमा पनि छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।
बैठकमा प्राकृतिक विपद् व्यवस्थापन, संयुक्त उद्धार अभ्यास, सुरक्षा तालिम, अध्ययन भ्रमण तथा सीमा नाकामा यात्रु सहायता कक्ष विस्तार गर्ने विषयमा समेत सहमति भएको छ।
सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिनेछ।




प्रतिक्रिया