पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति


काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ।

शुक्रबार सरकारी कार्यालय समय सकिएपछि सादा पोशाकमा खटिएका प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनालाई काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा लिएको छ।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा पत्रकारलाई पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको प्रमाण नदेखिएको र उनीहरूविरुद्ध जाहेरी परेको विषयसमेत स्पष्ट नभएको उल्लेख छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि गरिएको यस्तो गतिविधिप्रति काउन्सिलले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

काउन्सिलका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति भएमा वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको उजुरी परेमा त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै हो। त्यसैले समाचार सामग्रीकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुभन्दा स्थापित कानुनी प्रक्रिया र काउन्सिलको कार्यविधिबाट समाधान खोज्न सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारहरूको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न र पक्राउको कानुनी आधार स्पष्ट पार्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न भन्दै सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका छन्। मैनालीलाई साथमा नलिई कार्यालयबाट नफर्किने अडानसहित प्रहरी त्यहीँ बसेको बताइएको छ।

प्रेस काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।