काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै प्रतिपक्षी दल, संसद्, जनता र सञ्चार जगत्प्रति सरकारको व्यवहार ज्यादतीपूर्ण रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री पौडेलले सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका हुन्।
सरकारले कानुनी व्यवस्थालाई कमजोर बनाउँदै राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर पार्ने काम गरेको उनको भनाइ थियो।
बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकार स्वेच्छाचारी भयो। संविधान र कानुनको बेवास्ता गरियो। कानुनी व्यवस्थालाई कमजोर बनाउँदै सत्ताको दुरुपयोग गरियो। राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर बनाउने काम भएको छ।’
महामन्त्री पौडेलले सरकारका गलत कदमविरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो।
उनले तत्काल प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्न कांग्रेसले माग गर्नुपर्ने बताएका छन्। संसद्लाई प्रभावकारी बनाउँदै सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्नुपर्ने उनको जोड थियो।
यसैगरी, अदालतमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्व मुछिएको भनिएको ‘सेटिङ प्रकरण’ को निष्पक्ष छानबिन हुनुपर्ने माग पनि पौडेलले गरेका छन्।
उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको माग छ।




प्रतिक्रिया