काठमाडौं । आर्थिक अभावका कारण उपचारबाट वञ्चित मिर्गौलापीडित राजकुमार तामाङको जीवन रक्षाका लागि ‘स्वतन्त्र नागरिक अभियान’ले बचाउ अभियान सञ्चालन गरेको छ। रामेछापको खाँडादेवी गाउँपालिकाका तामाङको दुवै मिर्गौला फेर्नुपर्ने भए पनि आर्थिक विपन्नताका कारण उपचार हुन सकेको छैन।
रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनमा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले तामाङ बचाउ अभियानको घोषणा गरेका हुन्।
पीडित तामाङको मिर्गौला प्रत्यारोपणका लागि करिब साढे २२ लाख रुपैयाँ लाग्ने चिकित्सकहरूले बताएका छन्। तर, चरम गरिबी र आर्थिक स्रोतको अभावका कारण उनको परिवार उपचार खर्च जुटाउन असमर्थ छ।
अभियानको घोषणापछि आफूमाथि ठूलो गुन लागेको र जीवन रक्षा हुनेमा पूर्ण विश्वस्त रहेको पीडित तामाङले बताएका छन्। उपचारमा सहयोग गर्न चाहने महानुभावहरूका लागि तामाङको सम्पर्क नम्बर ९७४४८५९२४९ सार्वजनिक गरिएको छ। अभियानका संयोजक धमलाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी हातहरूलाई तामाङको जीवन बचाउन आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन्।




प्रतिक्रिया