काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले न्यायपालिकाको शुद्धीकरण र प्रेस स्वतन्त्रताको रक्षाका लागि सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले हालै सार्वजनिक इनम सापकोटा प्रकरणले न्यायालयको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको बताए ।
न्यायाधीशहरूको आचरणमाथि टिप्पणी गर्दै धमलाले न्यायमूर्तिहरू सधैँ तटस्थ रहनुपर्ने र बिचौलियाको पहुँचबाट टाढा हुनुपर्ने धारणा राखे । ‘न्यायाधीशले गलत गर्दैनन् र बिचौलिया भेट्दैनन् भन्ने जनविश्वास हो । तर, यसपटक न्यायमूर्ति नै बिचौलियासँगको भेटघाट र आर्थिक लेनदेनमा संलग्न भएको कुरा बाहिर आउनु न्यायालय स्वयंका लागि पनि हितकर छैन,’ उनले भने ।
उनले यो प्रकरणलाई टुङ्गोमा पुर्याएर न्यायपालिकाभित्रको शुद्धीकरण गर्न सरकारसँग जोडदार माग गरे । साथै, यस विषयमा सत्यतथ्य छानबिनका लागि नेपाल बार एसोसिएसनले भूमिका खेल्नुपर्ने र सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा कुनै तटस्थ व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने उनको भनाइ थियो ।
‘देशको न्यायपालिका बलियो भए मात्रै देश बलियो हुन्छ,’ धमलाले जोड दिए ।
कार्यक्रममा बोल्दै उनले स्वतन्त्र मिडियामाथि भइरहेको आक्रमणप्रति पनि कडा आपत्ति जनाए । समाचार लेखेकै भरमा सञ्चारगृहबाटै पत्रकारलाई पक्राउ गर्नु सरकारको गम्भीर गल्ती भएको भन्दै उनले भ्रष्टाचारी र बिचौलियालाई थुन्न बालेन सरकारलाई सुझाव दिए ।
राणाशासनदेखि हालसम्मका राजनीतिक परिवर्तनमा नेपाली मिडियाले निर्वाह गरेको भूमिकाको स्मरण गराउँदै धमलाले भने, ‘नेपाली मिडियाले सधैँ लोकतन्त्र, प्रजातन्त्र र जनताको एजेन्डा बोकेको छ । यसको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन, नेपाली सञ्चारजगत् कसैको अगाडि झुक्दैन ।’




प्रतिक्रिया