काठमाडौं । नेपाल बार एसोसिएसनका उपाध्यक्ष तेजबहादुर रावलले न्यायपालिकामा विचलन आएकाे बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले न्यायपालिकामा निष्पक्षता र स्वतन्त्रता कायम रहनुपर्नेमा जोड दिए ।
स्वतन्त्र न्यायपालिका, लोकतन्त्रको रक्षा र मानव अधिकारको संरक्षण गर्नु नेपाल बार एसोसिएसनको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उनले न्यायालयलाई विवादरहित र निष्पक्ष बनाउन आवश्यक रहेको बताए ।
इनाम सापकोटासँग नाम जोडिएका न्यायाधीशहरूमाथि उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान गर्नुपर्ने उनको माग छ । ‘नाम जोडिएका न्यायाधीशहरूमाथि उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्छ । छानबिन समितिले नै सत्यतथ्य पत्ता लगाउनुपर्छ,’ उनले भने ।
त्यस्तै, सरकारले प्रेस तथा सञ्चारमाध्यममाथि धरपकड गर्न नहुने र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने रावलको भनाइ छ ।
नेपाल बार एसोसिएसनले कुनै पनि व्यक्ति वा पक्षप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो धारणा तथा आवाज उठाउने उनले स्पष्ट पारे ।




प्रतिक्रिया