बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण


राँझा (बाँके), १७ कात्तिक । बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धारण गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त कोटा निर्धारण गरेको हो । यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकोमा माग गरेभन्दा आधा १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएर आएको कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार, गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएकोमा नेपालगञ्जस्थित मुख्य कार्याललयले कोटा मुताबिक नै धान खरिद गरेको थियो । पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ ।

अहिले तोकिएको कोटाले बाँकेका किसानसँग धान खरिद व्यवस्थापन गर्न कठिन अवस्था रहेकोले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदकै लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको लामिछानेले बताए ।

कोटा बढेर आएपछि फेरि प्राथमिक खरिद समितिको बैठक बसेर निर्णय गरेपछि खरिद प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । बाँकेमा धान खरिदका लागि पछिल्ला केही वर्षयता लगातार कोटा घट्दै आएको छ ।

गत आर्थिक वर्ष ०८२÷०८३ मा अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो । गत वर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान गरी २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकोमा नेपालगञ्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।

धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानले समर्थन मूल्यभन्दा कम मूल्यमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा एक हजारदेखि ५०० सम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताए ।

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उनले भने, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ ।”

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महङ्गो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो रहेका कारण किसानले रु पाँच सयदेखि रु एक हजार प्रतिक्विन्टल कम मूल्यम व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको बताए ।